पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रीमती हिसिला यमीज्यूले तारा गाउँ विकास समितिको ३२ औं वाषिर्कोत्सवको अवसरमा आयोजित "तारा गाउँ विकास समितिको भावी स्वरुपः सम्भावना र चुनौती" विषयक अन्तरक्रिया कार्यक्रमकोे आज एक समारोह बीच उद्घाटन गर्नु भयो । उद्घाटन भाषणमा बोल्नु हुँदै प्रमुख अतिथि माननीय मन्त्रिज्यूले तारा गाउँ विकास समितिको आफ्नो भूमिकालाई समय सापेक्ष परिस्कृत एवं व्यवस्थित गर्दै अगाडि बड्न यस प्रकारको अन्तरक्रिया आयोजना गरेकोमा आयोजक संस्था तारा गाउँ विकास समितिलाई धन्यवाद दिंदै समितिको गतिविधि वारे र्सवसाधारणमा कमै जानकारी एवं चासो भएको कुरा बताउनु भयो । साथै उहाँले अन्तरकृयामा प्रस्तुत हुने कार्यपत्रमाथि विद्धत वर्गले गहन टिप्पणी गरी उपयुक्त सुझाव एवं सल्लाह दिनु हुने छ भन्ने आशा व्यक्त गर्नु भयो । कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री लीलामणी पौडेल, अर्थ मन्त्रालयका सचिव श्री रामेश्वर खनाल, ठुलो संख्यामा पर्यटन क्षेत्रसंग सम्बद्ध विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, तारा गाउँ विकास समितिलाई नजिकबाट जान्ने तथा विगतमा समिति भित्र रहेर लामो समय काम गरेका व्यक्तित्वहरु, समितिका अध्यक्ष सहित संचालक सदस्यहरु, अन्य आमन्त्रित महानुभावहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रको सभापतित्व गर्नु भएका तारा गाउँ विकास समितिका सदस्य सचिव श्रीमती सुस्मिता ढकालले समापन क्रममा तारा गाउँ विकास समितिलाई नयाँ भूमिका सहित नयाँ तरिकाबाट संचालन गर्न आफु शुरु देखि नै प्रयासरत रहेको र आजको कार्यक्रम पनि यसैको उपज भएको विचार व्यक्त गर्नु भयो ।
दइ चरणमा विभाजन गरी संचालन गरिएको उक्त अन्तरक्रिया कार्यक्रमको दोश्रो सत्रको सभापतित्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रीमती हिसिला यमी स्वयंले गर्नु भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. पुष्पराज राजकर्णिकारले "तारा गाउँ विकास समितिको भावी स्वरुपः सम्भावना र चुनौती"
वारेमा कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्य पत्रमाथि नेपाल सरकारका पुर्व मुख्य सचिव श्री दामोदर प्रसाद गौतमले तारा गाउँ विकास समितिलाई विनिर्माण गरेर पुननिर्माण गर्नु पर्दछ भन्ने टिप्पणी गर्नु भयो भने पर्यटन व्यवसायी श्री टेकचन्द्र पोखरेलले तारा गाउँ विकास समितिलाई गरिवी निवारणका लागि पर्यटन कार्यक्रम (TRPAP) को अवधारणाबाट अगाडि बढाउनु पर्छ भन्ने टिप्पणी गर्नु भएको थियो । यस पछि उक्त विषयमा बृहत छलफल तथा राय सुझावका लागि सभा हल खुला (Floor Open) गरिएको थियो । सभाको छलफल (Floor) बाट समितिलाई राष्ट्रिय ग्रामीण पर्यटन विकास प्रतिष्ठानको रुपमा परिणत गर्ने, समितिमा विभिन्न क्षेत्रको प्रतिनिधित्व हुनु पर्ने, समितिका विगतका कार्यहरु वारे विश्लेषण गरेर नयाँ रुपले अगाडि बढ्नु पर्ने समेतका धारणाहरु व्यक्त भएका थिए । दोश्रो सत्रको सभापतित्व ग्रहण गर्नु भएका माननीय पर्यटन मन्त्री श्रीमती यमीले समापन मन्तव्य व्यक्त गर्दै नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा विशेष किसिमका खेलकुद पर्यटन (Sports Tourism) को विकास गर्न सकिने प्रचुर संभावना रहेकाले यसको विकास गर्नु पर्दछ भन्नु हुँदै हालको राजनैतिक परिवर्तनले ल्याएको सांस्कृतिक जन जागरणबाट पनि ग्रामीण पर्यटनलाई बढावा दिन सक्ने धारणा व्यक्त गर्नु भयो । यसै गरी मन्त्रीज्यूले विकासको क्रममा वैदेशिक नियोग लगायत विभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुले विभिन्न अवसरहरुमा दुर्गम स्थानमा निर्माण हुने संरचनाहरुले पनि ग्रामीण पर्यटन विकासमा सहयोग पुग्ने कुरा बताउनु भयो । अन्तमा, उहाँले अन्तरकृया कार्यक्रममा व्यक्त भएका टिप्पणीहरुलाई समेत समेटेर पर्यटन मन्त्रालयबाट तारा गाउँ विकास समितिलाई संरचनागत, वित्तिय एवं कानूनी रुपले नै पुनर्संरचना गरिने र सो क्रममा समितिको बौद्ध स्थित जग्गा सम्बन्धी उठेका प्रश्नहरुको संवोधन गरी महिलाहरुको हितका सम्बन्धमा समेत विचार गरिने धारणा व्यक्त गर्दै कार्यक्रम विर्सजन गर्नु भएको थियो । |